Tuesday, December 7, 2010

मन्तव्य
जनयुद्धका महान् शहीदहरुको उच्च सम्मान गर्दै एकीकृत ने क पा माओवादी म्याग्दी जिल्लाले म्याग्दी जिल्लामा जन्मिई महान् जनयुद्धमा उच्च बलिदान गर्नुहुने अमर शहीदहरुको संझना र सम्मानमा शहीद स्मारिका निकाल्न लागेकोमा म हर्षित छु ।
विद्रोहको झण्डा उठाउँदा-उठाउँदै रणमैदानमा छात्तीमा गोली थाप्दै बहादुरीपूर्वक देह त्याग्ने ती महान् शहीदहरुकोबारेमा केही लेख्न पाउनु गौरवको विषय हो । जो इतिहास रगतद्वारा लेखिएको हुन्छ त्यो बेहत्तर हुन्छ महान् हुन्छ । हुन त नेपालीहरुको रगत धेरै पटक धेरै ठाउँमा वगेको छ । आफ्ना छोटा-छोटा राज्य स्थापनार्थ भुरेटाकुरे सामन्तहरुले धेरै जनताको रगत खराव गरे । त्यसो त देशभक्तिका खातिर अङ्ग्रेज साम्राज्यसँग लड्दा वगेको रगतको मुल्य र इतिहास छुट्टै रहेको छ । अनि अङ्ग्रेजका टट्टूहरुले गोर्खाको नाममा सात समुद्र पारिसम्म नेपाली जनताका होनहार छोराहरुको बलि चढाए । जसको आफ्नै खालको इतिहास रहेको
छ । यी सबका अलावा आफ्नो भविष्यको फैसला जनता आफैले गर्ने नेपाली मौलिकता र विशेषतासहितको यो जनयुद्धको बलिदानीको आफ्नै मूल्य छ र युगौयुगसम्म रहिरहने छ ।
जब जनताहरु जाग्छन् असामान्य कुर्वानी हुन्छ अनि बेहत्तर इतिहास
लेखिन्छ । महान् जनयुद्ध यसैको एक महान् कडी बनेको छ । हरेक इतिहास निर्माणको क्रममा ठूलो मूल्य चुकाउनु पर्छ । महान् जनयुद्धका क्रममा महान् ्शहीदहरुको बलिदानी यही ईतिहासको मूल्य हो ।
जनयु्द्धमा मुख्य आधारइलाकाको एउटा महत्वपूर्ण मोर्चा हो म्याग्दी जिल्ला । इतिहास आफै बोल्छ यसको महत्व महानता र इतिहासबारेमा । म्याग्दी जहाँको मोर्चाहरुमा सयौको बलिदानी भएको छ अनि म्याग्दी जसले जनयुद्धको क्रममा एक बेपत्ता योद्धा सहित ७१ जना शहीदहरु जन्माएको छ ।
जनयुद्धको क्रममा म्याग्दीमा मैले पनि केही समय काम गरँे । जहाँ मैले वर्ग सचेतना र क्रान्तिप्रतिको उच्च अभिलाषा र आदर्श पाएँ । त्यसै भएर होला सचेत बलिदानीको बाहुल्यता म्याग्दीको बलिदानीको बिशेषता बनेको छ ।
क विश्व जसले मेरै साथमा देह त्याग्नु भयो क सुरज जो मेरै आदेशमा सोलुको सल्लेरी आक्रमणमा गएर भिड्दा भिड्दै शहादत प्राप्त गर्नु भयो  क भीषण क लक्की क पुकार क शक्तिलगायतका कमरेडहरु फौजी मोर्चाहरुमा साथसाथै लडेका कमरेडहरु हुन् । क गृष्म जससंग तत्कालीन ६ नं प्लाटुनदेखिको लामो सहकार्य रह्यो । धेरै मोर्चाहरुमा साथसाथै मृत्युलाई नजिकबाट चियाएका थियौँ । सेना निर्माण र विकासमा उहाँको विशेष भूमिका रहेको छ । क विजय क बदला क निशेषजस्ता कमरेडहरुसँग साथै लडेका थियौं । आज मसंग स्मृतिका ती भयानक यथार्थ मात्र छन् ।
हुन त पाचायत कालमा शहीद बन्ने सुरेस सेर्पुन्जाको बलिदानीका बारेमा पनि मलाई राम्रै जानकारी छ । तथापि म आफै जनयुद्धको एक सिपाही हुनुले जनयुद्धका शहीदहरुप्रतिको गाढा भावनात्मकता र सम्मान छुट्टै छ । हामी गर्जिदै युद्ध लड्यौँ विजयको हुँकार लिएर गाउँसमाजमा पुग्यौँ हाम्रो लडाइँका किस्साहरु देशदेशान्तर फैलिए । अपसोच मुटुभित्र पीडा गहभरी आँसु झार्दै शहादतको खबर लिएर शहीदको घरपरिवारमा पुग्दाको पीडा करुणा र विछोडको छट्पटी झनै सहनै नसकिने हुन्थ्यो । युद्धमा धेरै आँसु बगायौँ । त्यही भएर नै आक्रोशको ज्वालामा दुश्मनलाई डढाउने कोशिस गर्याँै । हो मुटुमा लागेको गोलीको घाउ त्यति चहराउने रहेनछ जति विछोडको घाउ चहराउँछ ।
हरेक मोर्चामा जानुअघि मोर्चाको सफलताको कामनासहित हात मिलाउँथ्यौँ । त्यो दुवै अर्थको हुन्थ्यो । यस पटक कसको पालो को साथी छुट्ने हो पालो आफ्नै पनि हुन सक्थ्यो । निश्चय पनि धेरै यस्ता हात मिलाईहरु अन्तिम नै भए । अर्काे अर्थ हुन्थ्यो कोही शहीद भए बाँचेकाहरुले क्रान्तिको बन्दुकलाई झूक्न नदिने प्रतिवद्धता । आज हामी बाँचेकाहरुले क्रान्तिलाई पूर्णतामा पुर्याउन बाँकी नैै छ ।
बन्दुकको आडमा टिकेको राज्यसत्तालाई बन्दुकले ढाल्न जनताको सेना निर्माण गर्ने क्रममा म्याग्दीले निभाएको अग्रणी भूमिका र गरेको बलिदानी अतुलनीय छ । आज जुन अवस्थाको जनमुक्ति सेना निर्माण भएको छ त्यो महान शहीदहरुको बलिदानीको जगमा उभिएको छ । महान् शहीदहरुको रगतले साटिएका बन्दुकहरुले जनमुक्ति सेना सुसज्जित छ भलै अहिले त्यो कन्टेनरमा राखिएको अवस्थामा किन नहोस् । जनमुक्ति सेनाले जनताको पक्षमा बन्दुक उठाएको छ अन्तिमसम्म उठाइरहनेछ । विद्रोहको झण्डा एक पटक उठाए पछि अन्तिमसम्म पुर्याउनै पर्छ र अन्तिम अर्थमा जनताको सेनाले विजय हाँसिल गर्नै पर्छ त्यो जुनसुकै किसिमको किन नहोस् । तब मात्र साँचो अर्थमा महान् शहीदहरुको सम्मान हुनेछ र उनीहरुप्रतिको साँचो श्रद्धााजली हुनेछ ।
अन्त्यमा देशको भिन्न-भिन्न मोर्चामा शहादत प्राप्त गर्ने म्याग्दीका महान् शहीदहरुप्रति हार्दिक श्रद्धााजली अर्पण गर्दै दुई-चार शब्द लेख्ने अवसर दिनु भएकोमा प्रकाशक कमरेडहरुलाई धन्यवाद दिन चाहान्छु ।
शुकबहादुर रोका मगर शरद
डिभिजन कमाण्डर
दोश्रो डिभिजन
जनमुक्ति सेना नेपाल

No comments:

Post a Comment